कार्यालय सहायकलाई सचिवको जिम्मेवारी

 

प्रकाशित मिति : २०७५ भदौ १७ आईतवार, बेलुका ८ : १० बजे

 

खोटाङ । वडा सचिव नहुँदा खोटाङको जन्तेढुंगा गाउँपालिकामा एक जना कार्यालय सहायकले दुई वडाको वडा सचिवको रुपमा काम गरिरहेका छन् । गाउँपालिका कार्यान्वयनमा आएको वर्षदिन वित्दा समेत कर्मचारी व्यवस्थापन नहुँदा जन्तेढुंगा गाउँपालिका–४ डम्बर्खुशिवालयका कार्यालय सहायक कृष्णवहादुर कट्वालले डम्बर्खुशिवालय र जन्तेढुंगा गाउँपालिका–२ बोपुङको वडासचिवको रुपमा काम गर्दै आएका हुन् । ६ वडा रहेको गाउँपालिका सुरुदेखि नै वडासचिव बिहिन बनेको जन्तेढुंगा गाउँपालिकाका प्रमुख शंकर राईले बताए । सचिव नहुँदा कार्यालय कार्यालय सहायकले काम चलाउ वडासचिवको भूमिका पाएको हो । वडामा सचिवको व्यवस्था नहुँदा दैनिक कामकाज प्रभावित भइरहेको छ ।

 

यस्तै, वडामा वडा सचिव नहुँदा गाउँपालिकाका प्रशासन फाँटका नासु बिदुर आचार्यले जन्तेढुंगा गाउँपालिका–३ काहुले र जन्तेढुंगा गाउँपालिका–६ दिप्लुङको वडासचिवको काम गरिरहनुभएको छ । यस्तै, गाउँपालिकाका सव–ओभरसियर भीमबहादुर कार्कीले जन्तेढुंगा गाउँपालिका–१ देविस्थान र जन्तेढुंगा गाउँपालिका–५ चिसापानीको वडासचिवको काम गर्दै आउनुभएको छ । दोहोरो भूमिका निभाउँदा कार्यालयको सेवा प्रभावकारी हुन नसकेको गाउँपालिकाले जनाएको छ । सबै वडा सचिव अन्यत्र सरुवा भएर गएपछि सिंगो गाउँपालिका सचिव बिहिन बनेको गाउँपालिका प्रमुख राईले बताए । दिप्लुङमा कार्यरत एक मात्र वडा सचिव शम्भु आचार्य पनि सरुवा भएर सोलुखुम्बु गएपछि गाउँपालिका वडासचिव बिहिन बनेको हो ।

 

यस्तै खोटेहाङ गाउँपालिकाका ९ वडामध्ये ५ वडा सचिवविहिन बनेका छन् । खोटेहाङ गाउँपालिका–१ लिकुवापोखरी, खोटेहाङ गाउँपालिका–३ सावाँकटहरे, खोटेहाङ गाउँपालिका–४ बड्कादियाले, खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरी र खोटेहाङ गाउँपालिका–८ सिम्पानी वडा सचिव बिहिन बनेको हो । हाल खोटेहाङ गाउँपालिका–२ वाप्लुखाका वडा सचिव मनसकुमार राईले आफ्नो वडा बाहेक लिकुवापोखरी र सावाँकटहरे, खोटेहाङ गाउँपालिका–७ खोटाङबजारका वडा सचिव गोविन्द पराजुलीले आफ्नो वडाबाहेक इन्द्रेणीपोखरीको काम गर्दै गर्दै आउनुभएको छ । बड्कादियाले र सिम्पानीको वडासचिव सरुवा भएपछि वडा कार्यालय रिक्त भएको गाउँपालिका प्रमुख प्रदीप राईले बताए ।

 

बराहपोखरी गाउँपालिकाका ६ वडामध्ये ३ वडा सचिव बिहिन बनेका छन् । बराहपोखरी गाउँपालिका–१ बराहपोखरी र बराहपोखरी गाउँपालिका–२ सुन्तले र बराहपोखरी गाउँपालिका–५ पौवासेरा सचिव बिहिन बनेको हो । वडामा सचिव नभएपछि बराहपोखरी गाउँपालिका–४ फाक्टाङका सचिव गौरीनाथ आचार्यले फाक्टाङ र पौवासेरा तथा बराहपोखरी गाउँपालिका–३ साउनेचौंरका सचिव शम्भु आचार्यले साउनेचौंर र बराहपोखरीको काम गरिरहेका छन् । सुन्तलेको काम कार्यालय सहयोगीकै भरमा सञ्चालन भइरहेको गाउँपालिका प्रमुख शालिक बञ्जराले बताए ।