दास ढुङ्गामा हराएको मोती र शव्द खेलमा अल्झिएको राजनीति

जेठ १० शुक्रवार, २०७६
खोटाङ । नेपालको इतिहासमा २०५० सालको दास ढुङ्गा जीप दुर्घटना भयावह, रहस्यमय र शोकग्रस्त बनेर आयो । देश शोकमा डुव्यो, हरेक नेपाली जनता रोयो । नेपाली राजनीति शंका उपशंका र आरोप प्रत्यारोपमा उत्रियो । गायक, नायक, कलाकार, पत्रकार, किसान मजदुरले मुलुकभर आन्दोलन गरे, सत्यतथ्य छानविन गर्न, हत्यारा पत्ता लगाउन । तत्कालीन वाम राजनीतिको नव विचारक मदन भण्डारी र जीवराज आश्रितको रहस्यमय मृत्युको विषयमा ।

नेपाली वाम राजनीतिलाई समयसापेक्ष विश्व परिवेशमा उतार्न र जनताको विश्वास जित्नका लागि जनताको बहुदलीय जनवादको प्रतिपादन गर्ने तत्कालीन ने.क.पा.(एमाले)का महासचिव मदन भण्डारी र संगठन प्रमुख जीवराज “आश्रित”को २०५० साल जेठ ३ गते विश्वास पात्र अमर लामाले चलाएको जीप दास ढुङ्गा नजिक त्रिशुलीमा खसेर मृत्यु भयो ।

सौभाग्यवश चालक अमर लामा वाच्न सफल भए । जहाँबाट गाडी खस्यो त्यहाँ भुस र बालुवा थुपारेर संकेत गरिएको, त्यति मात्र होइन चालक लामाले लगाएको चप्पल समेत नबगाएको किनारमा निस्किएर लामाले गुहार मागेको तर नेता द्वोयसहित जीप त्रिशुलीमा बेपत्ता भएको हल्लाले घटना सुनियोजित हो भनी किटान गरियो र हत्यारा पत्ता लगाउने हौवा पिटियो । जनआक्रोस शान्त पारियो । अनेक अड्कल गरियो तर घटनालाई खास महत्व नदिएको जस्तो देखियो ।

सोभियत संघको विघटनसँगै विश्व राजनीति मञ्चबाट विलय हुदै अधोगतितिर लागेको कम्युनिष्ट राजनीतिको गिर्दो अवस्थालाई मध्येनजर गरी नेपाली माटो सुहाउँदो बनाउन र नेपाली जनताको विश्वास जित्न “जनताको बहुदलीय जनवाद”(जबज) को सिद्धान्त प्रतिपादन गर्ने जननेता हुन् मदन भण्डारी । जसको सिद्धान्तको खुड्किलो टेकेर पहिलो कम्युनिष्ट नेता मनमोहन अधिकारी २०५१ सालमा देशको प्रधानमन्त्री भए र केही जनप्रिय काम गरे । यही जगबाट विस्तारै नेपाली कम्युनिष्ट पार्टीको विश्वास जनतामा बढ्यो । जनयुद्ध र जनआन्दोलनको भ¥याङ समातेर आज मुलुकमा दुईतिहाइको कम्युनिष्ट सरकार बनेको छ । यो अवसर नेपाली कम्युनिष्टहरुका लागि अवसर र चुनौति दुवै हुन सक्छ । यसको आधार भूमि पनि मदनको “जबज” नै हो भन्दा फरक नहोला ।

नेपाली कम्युनिष्ट राजनीतिलाई सर्वाेच्च शिखरमा चढाउने यी महान नेता मदन भण्डारी जनताका ढुकढुकी हुन र सँधै जगमगाउने अनमोल मोती हुन् तथापि उनलाई विस्तारै इतिहासको कालकोठरीमा विलय गराउने यात्रा अघि बढेको महसुस हन थालेको छ ।

बहुचर्चित “दास ढुङ्गा हत्याकाण्ड”नामले चिनिएको यस घटनालाई कुनै पनि सरकारले छानविन गर्ने र सत्य तथ्य पत्ता लगाउने प्रयास गरेको देखिंदैन । घटनाका वास्तविक जानकार अमर लामा नै थिए । सरकारले चाहेको भएमा उनीबाट नै हत्या वा दुर्घटना के हो पत्ता लाग्दथ्यो । तर, माओवादी जनयुद्ध र जनआन्दोलन सफल भएकै दिन जिउँदो प्रमाण अमर लामाको दिनदहाडै अपहरण गरियो र वेपत्त बनाईयो । यस घटनाले रहस्यमाथि रहस्य थपेको छ । यसको वास्तविक परिणाम आउन नसक्नु नेपाली राजनीतिको कमजोरी पाटो हो भने कूटनीतिक रुपमा ठुलो कमजोरी र लाचारपन पनि हो ।

खुला मञ्चबाट राजालाई श्रीपेच फुकालेर चुनावी मैदानमा आउन चुनौति दिने प्रखर वक्ताको मृत्युको प्रमाण गायब बनाउने को थियो यो कुरा गर्भमै तुहिएको छ । तत्कलिन नेकपा (एमाले) का नेता माधवकुमार नेपालले हत्यारा पत्ता लगाउने प्रण गरे पनि सँधै प्रतिपक्षको भूमिकामा रहँदा सम्भव भएन । तथापि सत्ताको सिंहसान नपाउन्जेल हरेक वर्ष जेठ ३ गते दासढुङ्गामा भेला भएर घटनाको चुरो खोतल्ने बकबास चल्थ्यो । तर, मनमोहन प्रधानमन्त्री भएपछि यस विषयमा खासै चर्चा चलेन ।

नेपाली जनताको सौभाग्य भनौ वा समयको प्रभाव त्यही “जबज” को ताकिल चढेर दुई तिहाईको शक्तिशाली प्रधानमन्त्री र सोही घटनाले सिउँदो पुछिएकी भण्डारी पत्नी (देशको सर्वोच्च पद) राष्ट्रपति हुँदा पनि विषय चर्चामा नआउँनु कति सान्दर्भिक हुन्छ ? जसको त्याग लगानीले विश्व इतिहासमा जनताको अभिमत पाएर नेपाली कम्युनिष्टले दुई तिहाईको सरकार बनाउँदा समेत आफ्ना महान नेता, पार्टीका सिपाही एवम् पतिको शंकास्पद मृत्युको विषयमा एक शव्द नबोल्नुले नेपाली राजनीतिक र कुटनीतिक क्षेत्रमा जटिल प्रश्न जन्माएको छ ।

विगत २५ वर्षदेखि जनताको दिलदिमागमा तरङ्गित सन्देह नामेट गराउन आवश्यक थियो । माक्र्स, लेनिन र माओको सिद्धान्तबाट नविनतम वाद (जबज) को सिर्जना गर्ने जननेताको शंकास्पद मृत्युलाई ढाकछोप गर्न बाध्य बनाउने कुनै अदृष्य शक्ति हुनसक्ने अड्कल अन्यथा हुदैन । यदि नेपालका कुनै पनि न्यायिक निकायले गहिरिएर अनुसन्धान नगरी नै चालक अमर लामासँग सोधपुछ गरेर मात्र पनि सत्य आफै सतहमा आउने थियो ।

देशमा गणतन्त्रको शिशु चिच्याउन नपाउँदै घटनाको सबुत प्रमाण अमर गायब बनाइनु चानचुने कुरा थिएन । देशको होनाहार पार्टीको बहादुर सिपाहीको अस्वाभाविक मृत्युमा चासो र चिन्ता लिनु र वास्स्तविकतालाई जनतासामु सार्वजनिक गर्नु सार्वभौम देशको शासकको दायित्व हो भने स्वर्र्र्गीय नेता द्वोयप्रतिको खाँटी सम्मान र न्याय हुन सक्थ्यो । यसका अलवा हरेक वर्ष दास ढुङ्गामा गएर मदन र “अश्रित”को प्रतिमामा एउटा माला भिराउने र ओठे भक्ति देखाउने काम गरिन्छ । यो वर्ष पनि यसकै पुनरावृत्ति भएको छ । यो सर्वथा निन्दनीय मात्र होइन राजनीतिक र कूटनीतिक असक्षमता पनि हो भन्दा अत्युक्ति नहोला ।

यस्ता हजारौ नेता र मुक्तिकामी जनताको कुर्वानीले देश संघिय प्रणालीमा पुगेको छ तर सरकार र सदन शव्द जालमा अल्झिएको छ । जनताका समस्या र अपराधजन्य घटना विर्सिएर पक्ष प्रतिपक्षवीचमा शव्दको जुहारी चलेको छ । देश र जनताका नाममा खाएको कसम रद्दीको टोकरीमा फालेर ओठे जवाफका लागि शब्द कोशका घटिया शब्द घोक्न लागेको देखिन्छ ।

टेलिभिजनका पर्दामा हेर्दा नेपाली जनताको रगतको बलमा सिर्जिएको संसद भवन होईन, मदहोस दोहोरी साँझमा जमेको तारे होटल जस्तो भान हुन्छ । कतै “मेरो सरकार” शव्दलाई जोडेर एकाथरीले लोकतन्त्र नाङ्गेझार भएको र राजाहरुको भाषा बोलेको भनी राष्ट्रपतिमाथि खनिएको देखियो ।

राष्ट्रपतिले आफूले भनेको होइन, गणतन्त्रको लादीगुदी बुझेका पेशेवर बुज्रुकहरुले लेखन र सम्पादन गरेको बनिबनाउ दस्तावेज वाचन गरेको हो । सदन र सरकार फरक हो भन्ने कुरा हेक्का नराखी अर्को थरी ठुलो भीडले सानो भीडलाई हप्कीदप्की गरेको देखियो । जनताका प्रतिनिधि सभासदहरुले राखेका जिज्ञासाको जवाफमा देशका कार्यकारी प्रधानमन्त्रीले “कुण्ठा, आक्रोस र निम्सरो(निम्छरो)” शव्द प्रयोग पछि नेपाली जनता र देशको विषयमा छलफल हुने सदन लोकदोहोरी गाउने रोदीघर जस्तो देखियो । जनताका प्रतिनिधि र देशका कार्यकारी समेत लोक दोहोरी गायक जस्तो महसुस भयो ।

कर्णाली भोक र रोगले ग्रसित छ, सुस्ता रातारात मिचिएर सुस्केरा हाल्दैछ, ओलाङचुङ गोला अशिक्षाले अन्धकार बनेको छ, कञ्चनपुर बलात्कृत हुँदा काठमाडौ धुलोमा निसासिएको छ, सिराह, सप्तरीहरु असुरक्षित छन् । देश दुब्लाएको छ । सीमा स्तम्भ भागेर उत्तरतिर आउँदा बेलुका नेपालमा सुतेका नेपाली विहान निद्राबाट ब्युँझँदा भारतमा पुगेका हुन्छन् ।

वर्षामा नदी थुनेर नेपाली भूमि डुबाइन्छ र हिउँदमा बाँध खोलेर मरुभूमि बनाईन्छ । यसबेला जनताले तिरेको करबाट सुविधा खाएर शव्दकोश घोक्ने, अन्ताक्षरी खेल्ने र शव्द जालमा अल्झिने बेला होइन वाम राजनीतिका नव सिद्धान्तका सर्जक तथा दासढुङ्गामा हराएको मोति खोज्ने समय हो ।

देशका जटिल एवम् शदियौंदेखि संस्कार बनेर रहेका अन्याय, अत्याचार, दुराचार, विकृति, विसंगति, शोषण, दमन आदिको समुल नाश गर्ने तथा रामराज्यको आभास दिने राजनीति र राजनीति संस्कारको स्थापना गर्ने सुवर्ण अवसर हो । गोर्खाली हुँदा कमाएको मानसम्मान बचार्ई राख्ने र नेपाली भएपछि गुमाएको इज्जत फिर्ता गर्ने उपयुक्त मौका हो । (लेखक बुढाथोकी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ८ बुवासुङ निवासी हुन ।) अस्तु !