बाँसुरी वाद्यक नगेन्द्रबिक्रमलाई अदृश्य कला पुरस्कार

जेठ ११ शनिवार, २०७६
खोटाङ । खोटाङका बाँसुरी वाद्यक नगेन्द्रबिक्रम राईलाई अदृश्य कला पुरस्कार प्रदान गरिएको छ । कलाका क्षेत्रमा विशेष योगदान पु¥याउने व्यक्तिलाई हरेक वर्ष प्रदान गर्नेगरी अदृश्य कला केन्द्र खोटाङले स्थापना गरेको पहिलो पुरस्कार बासुरी वाद्यक राईले प्राप्त गरेका हुन् । केन्द्रको प्रथम अधिबेसन तथा साधारण सभाको अवशरमा राईलाई ११ हजार १११ रुपैयाँ राशीको पुरस्कार प्रदान गरिएको हो ।

हलेसीस्थित होटल हलेसी भिलेजमा शनिबार आयोजित कार्यक्रममा हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख इवन राई र उपप्रमुख बिमला राईले बाँसुरी वाद्यक राईलाई पुरस्कार हस्तान्तरण गरेका छन् ।

हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिममा २०४३ सालमा जन्मिएका राई सन् २०११ मा बाँसुरी वाद्यवाद्यन अन्तरगत विम्यूजका गोल्डमेडलिष्ट हुन् । नेपाली गीत÷संगीतका क्षेत्रमा बाँसुरी वाद्यवादनको माध्यमबाट पु¥याएको योगदान स्वरुप राईलाई पुरस्कृत गरिएको केन्द्रले जनाएको छ ।

२०६० सालदेखि बाँसुरी बाद्यनमा लागेका राई २०६३ सालदेखि व्यवयासीक रुपमा गीत÷संगीतमा बाँसुरीको संगीत दिँदै आएका छन् । पुरस्कृत राईले करिब १५ हजार नेपाली गीतमा बाँसुरीको संगीत दिइसकेका छन् । उनले हिन्दी र चाईनिज गीतमा समेत बाँसुरीको धुन दिएका छन् ।

यसैबीच, अदृश्य कला केन्द्रको अधिबेसनले नयाँ नेतृत्व चयन गरेको छ । कुबेर राईको अध्यक्षतामा १३ सदस्यीय केन्द्रको नयाँ समिति बनाइएको हो । केन्द्रको उपाध्यक्षमा यादव राई, महासचिवमा एकराज दोसाँध, सचिवमा तामिता राई, कोषाध्यक्षमा बगम राई र सह–कोषाध्यक्षमा याङ्गीला राई चयन भएका छन् ।