साकेला सिली प्रस्तुतीमा रतन्छा प्रथम

जेठ १४ मंगलवार, २०७६
खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडामा आयोजित बृहत साकेला सिली प्रतियोगीतामा साकेला गाउँपालिका–२ रतन्छाले प्रथम स्थान प्राप्त गरेको छ ।

मंगलबार सम्पन्न प्रतियोगीतामा जिल्ला तथा जिल्ला बाहिरका प्रतिष्पर्धी समुहलाई पछि पार्दै रतन्छाले प्रथम स्थान प्राप्त गरेको हो ।

प्रतियोगीतामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङ दोश्रो र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पा तेश्रो भएका छन् ।

प्रतियोगीताका प्रथम, दोश्रो र तेश्रो हुने समुहलाई क्रमशः नगद १ लाख, ७५ हजार र ५० हजार प्रदान गरिएको साकेला सिली प्रतियोगीताका आयोजक किरात राई यायोक्खा प्रारम्भिक कमिटि दोर्पाचिउरीडाँडाका अध्यक्ष सिताराम राईले बताए ।

विजेता समुहलाई प्रदेशसभा सदस्य रामकुमार राईले पुरस्कार प्रदान गरेका छन् ।

किरात राईको प्रमुख चाड साकेलामा नाचिने साकेला सिली लोपोन्मुख बन्दै गएकाले सिलीको संरक्षण र प्रवद्र्धनका लागि आयोजना गरिएको साकेला सिली प्रतियोगीतामा खोटाङ र उदयपुरका २१ टिमको सहभागीता रहेको थियो ।

विप्लव नेतृत्वको नेकपा माओवादीको बन्दका कारण जिल्ला बाहिरका कतिपय सहभागी आउन नसकेको आयोजकले जनाएको छ ।

‘बाबुबाजेको अन्त्यसँगै साकेला सिलीको मौलिकता लोपोन्मुख अवस्थामा पुगेको छ, यसको पुस्तान्तरण जरुरी छ,’ अध्यक्ष राईले भने, ‘युवालाई संस्कार संस्कृतिको बारेमा जानकारी गराउने र संरक्षणका लागि सचेत बनाउने हाम्रो लक्ष्य छ ।’

कार्यक्रममा गायक तथा संगीतकार जीतेन राई, पदम थुलुङ, रेवत राई, उमेश राई (फुलन्देकी आमा) लगायतको कलाकारको प्रस्तुतीले दर्शकलाई मनोरञ्जन दिलाएका थिए ।