ढुंगा निकासीमा अख्तियारको छानविन शुरु

 

प्रकाशित मिति : सोमबार  भदौ १८, २०७५

खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौले नवलपुरमा सामुदायिक बन क्षेत्रभित्रबाट ढुंगा गिटी निकासी भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन थालेको छ । मध्यपहाडी लोकमार्गको हलेसी–दिक्तेल सडक खण्ड अन्तरगत बिजुले–हुर्लुङ र हुर्लुङ–दिक्तेल खण्डको कालोपत्रेको काम गरिरहेको ठेकेदार कम्पनी लामा–नागार्जुन जेभीले वडा कार्यालयको सिफारिसमा स्थानीय कुसेहुर्के सामुदायिक बन क्षेत्रभित्रको देउरालीडाँडाबाट ढुंगा गिटी निकासी गरेको भन्दै छानविन थालिएको हो ।

 

सामुदायिक बन उपभोक्ता समितिलाई जानकारी नदिई नगरपालिका र वडा कार्यालयले ठेकेदारलाई देउरालीडाँडाको ढुंगा निकासी अनुमति दिएको भन्दै उजुरी परेपछि अख्तियारको निर्देशनमा डिभिजन कार्यालय ओखलढुंगाले छानविन थालेको जनाएको छ ।

 

अख्तियारको निर्देशनमा बन विभागमार्फत भदौ १४ गते नवलपुर आइपुगेको डिभिजन वन कार्यालय ओखलढुंगाका सहायक बन अधिकृत हरिकृष्ण चौधरी नेतृत्वको टोलीले ढुंगा निकालिएको क्षेत्रको स्थलगत अवलोकन, स्थानीयसँग सोधपुछ, सर्जमिन मुचुल्का तयार लगायतका काम गरेको छ । छानविन टोलीले नगरपालिका र वडा कार्यालयलाई पनि लिखित जवाफ माग गर्ने डिभिजन वन कार्यालय खोटाङका प्रमुख लोकराज नेपालले बताए ।

 

मध्यपहाडी लोकमार्गबाट नवलपुर जाने बाटोमा पर्ने देउरालीडाँडाबाट मापदण्ड विपरित ढुंगा गिटी निकालिएको भन्दै सामुदायिक बन उपभोक्ता समितिले गत असारमा अख्तियारमा उजुरी हालेको थियो । बन क्षेत्रभित्रको सम्पदा निकासीकाक्रममा आफुहरुलाई जानकारी नगराइएकाले उजुरी हालिएको कुसेहुर्के सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष खड्गबहादुर राईले बताए । उजुरी परेपछि डिभिजन वन कार्यालय खोटाङले पनि सहायक बन अधिकृत रमाकान्त यादवलाई अनुसन्धान अधिकृत तोकेर छानविन थालेको थियो ।