नगरपालिका र प्रशासनबीच द्वन्द्व चर्किदै

प्रकाशित मिति : सोमबार भदौ १८, २०७५

त्रिधार्मिकस्थल हलेसीको व्यवस्थापन समिति गठनको विषयलाई लिएर हलेसी तुवाचुङ नगरपालिका र प्रशासनबीच दुरी बढेको छ । गत जेठ २७ गते बसेको नगर कार्यपालिकाको बैठकले हर्कराज राईको अध्यक्षतामा गठन गरेर सिफारिस गरेको हलेसी मन्दिर व्यवस्थापन समितिका पदाधिकारी र सदस्य हेरफेर भएपछि नगरपालिका र प्रशासनदबीच द्वन्द्व सुरु भएको छ ।

 

नगर कार्यपालिकाको बैठकले सर्वसहमतीमा मन्दिर व्यवस्थापन समिति गठन गरेर प्रशासन र मालपोत कार्यालयलाई निर्णय पठाइएको भएपनि गुठी संस्थानबाट समितिको नामावली हेरफेर भएर आएको नगरपालिकाले जनाएको छ । प्रशासनले नगरपालिकाको सर्वसम्मत निर्णयलाई उल्टाउँदै मन्दिर व्यवस्थापन समितिको नामावली परिवर्तन गरेर पठाए अनुसार गुठी संस्थानले पनि प्रशासनकै रायका आधारमा समितिलाई स्वीकृत गरेकाले समस्या चर्किएको मेयर इवन राईले बताए । नगरपालिकाले २०७४ साल पुस १७ गते सिफारिस गरेको मन्दिर व्यवस्थापन समितिलाई नै जेठ २७ गतेको नगर कार्यपालिका बैठकले पास गरेको थियो । ‘स्थानीय सरकारको निर्णय उल्ट्याउने को हो ?,’ मेयर राईले भने, ‘सिडियोबाट निन्दनीय काम भएको छ ।’

नगर कार्यपालिकाको सिफारिस र प्रशासनको राय सहितको समितिलाई एकैसाथ पठाइए पनि गुठी संस्थानले पनि प्रशासनको रायका आधारमा असार २५ गते मन्दिर व्यवस्थापन समितिलाई स्वीकृत गरेर असार २८ गते मालपोत कार्यालयलाई पत्राचार गरेको पाइएको छ ।

 


आफ्नो निर्णय उल्टिएपछि नगरपालिकाले प्रशासनको राय सिफारिसमा गुठी संस्थानले स्वीकृत गरेको हलेसी मन्दिर व्यवस्थापन समितिलाई काम गर्न नदिने भएको छ । परिवर्तित समितिलाई कागजात र कार्यालयको तालाचाँबी नदिनका लागि भनि सकिएको मेयर राईले बताए । ‘सिडियोको समितिलाई काम गर्न दिइन्न । कागजात र ताला चाँबी नदिनु भनेर पुरानो समितिलाई भनिसकेका छौँ,’ मेयर राईले भने, ‘स्थानीय सरकारले जे निर्णय गरेको छ । त्यही निर्णय पालना हुनुपर्छ । गराएरै छाड्छौँ ।’

 

स्थानीय सरकारको निर्णयलाई असफल गराउनका लागि भूमिका खेलेको भन्दै मेयर राई प्रजिअ पौडेलसँग असन्तुष्ट बनेका छन् । २०७४ साल पुस १७ गते सिफारिस समिति गुठी संस्थानबाट अस्वीकृत भएको अवस्थामा नगर कार्यपालिकाबाट पुःन सोही समिति पास भएर आएकाले प्रशासन र संस्थानबीचमा राय लेनदेन भएको पत्रबाट स्पष्ट हुन्छ ।

प्रमुख जिल्ला अधिकारी सुरेन्द्रराज पौडेलले भने नगरपालिकाको निर्णय उल्टाउनुमा आफ्नो हात नभएको बताए ।