विप्लव कार्यकर्ता खोज्न पूर्वका चार जिल्लाका डिएसपी फिल्डमा

जेठ २२ बुधवार, २०७६
काठमाण्डौ । पूर्वका चार जिल्लामा नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका गतिविधि बढेको सूचनाको आधारमा डिएसपीकै कमाण्डमा सुरक्षाकर्मी खटिएका छन्।

हातहतियारसहित विप्लव समूहका कार्यकर्ता जिल्लाका विभिन्न भागमा गतिविधि गरिरहेको सूचना पाएपछि प्रदेश १ प्रहरी कार्यालयको आदेशअनुसार डिएसपीकै कमाण्डमा सुरक्षाकर्मी खटिएका हुन्।

भोजपुर, संखुवासभा, खोटाङ र सोलुखुम्बुका प्रहरी प्रमुख आफैं विप्लवका कार्यकर्ता खोज्न खटिएका हुन्। भोजपुरका केशवकुमार थेवे, संखुवासभाका मीनबहादुर लामा, सोलुका शालिकराम शर्मा, खोटाङका राजकुमार केसी आफैं फिल्डमा छन्।

प्रदेश १ प्रहरी कार्यालयका प्रमुख केदार रिजालले ती जिल्लामा विप्लव समूहको गतिविधि बढेका कारण जिल्ला प्रहरी कार्यालयका प्रमुखलाई नै फिल्डमा खटिन आदेश दिएका थिए। उनीहरूसहित सशस्त्र प्रहरीको एक समूह पनि खटिएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त सुरक्षा गस्ती खटिएको हो। आजको नागरिक दैनिकमा खबर छ ।