चट्याङबाट हुने धनजनको क्षती न्यूनीकरण गर्न लाइटिङ एरेष्टर

जेठ २८ मंगलवार, २०७६
खोटाङ । चट्याङबाट हुने धनजनको क्षती न्यूनीकरणका लागि खोटाङको केपीलासगढी गाउँपालिकाले दुई स्थानमा लाइटिङ एरेष्टर (चट्याङ प्रतिरोधी उपकरण) जडान गरेको छ ।

चट्याङबाट हुने क्षती तथा जोखिम न्यूनीकरणका लागि गाउँपालिकाले केपीलासगढी गाउँपालिका ४ बाक्सिलाको साक्सिला र हरेलोडाँडामा लाइटिङ एरेष्टर जडान गरेको हो ।

आर्थिक वर्ष २०७४/०७५ मा विनियोजन गरिएको २ लाख बजेट तथा जनसेवा समाज नेपाल जालपाको सवल परियोजना अन्तरगत २ लाख ५३ हजार ५ सयको खर्चमा बाक्सिलाको छुट्टाछुट्टै स्थानमा लाइटिङ एरेष्टर जडान गरिएको गाउँपालिका अध्यक्ष कृष्ण राईले बताए ।

सो क्षेत्रमा हरेक वर्ष चट्याङले जनधनको क्षती पु¥याउने गरेकाले समाधानको विकल्पमा प्रतिरोधात्मक उपकरण जडान गरिएको हो । जडान गरिएको उपकरणले आठ सय मिटर आसपासमा परेका चट्याङलाई निष्क्रिय पार्ने दावी गरिएको छ ।

‘यो क्षेत्रमा हरेक वर्ष चट्याङ पर्छ, जनधनको क्षती भइरहेको छ, पशुचौपाय उत्तिकै मर्ने गरेको छ,’ गाउँपालिका अध्यक्ष राईले भने, ‘यो समस्यालाई कम गर्न लाइटिङ एरेष्टर राखिएको हो ।

यसले आठ सय मिटर वरपर परेको चट्याङलाई तानेर डिस्पोज गर्छ भनेको छ ।’ चट्याङ प्रभावित क्षेत्रकारुपमा रहेको बाक्सिलामा हरेक वर्ष मान्छे र पशुचौपाय मर्ने गरेको छ । लाइटिङ एरेष्टर राखेपछि चट्याङको जोखिम टरेको भन्दै स्थानीय उत्साहित छन् ।

यसअघि, चट्याङको जोखिम न्यूनीकरण गर्नका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाको महुरे र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपा खिल्कुका ३५ घरमा अर्थिङ गरिएको छ ।