खेर जाने जडिबुटीले भाउ पाउन थाल्यो

जेठ २९ बुधवार, २०७६
खोटाङ । खोटाङको फेदीबाट एक ट्याक्टर बुढो ओखती (ठूलो ओखती) र सुगन्धवाल निकासी भएको छ । केपीलासगढी गाउँपालिका–१ फेदीबाट सात सय ५० केजी ठूलो ओखती र दुई सय केजी सुगन्धवाल जडिबुटी निकासी भएको हो ।

फेदीको पत्करु, चित्रे, बर्खे, पिपिन, सुम्दे लगायतका लेकाली क्षेत्रमा उत्पादन हुने बुढो ओखती र सुगन्धवाल संकलन गरेर ट्याक्टरमार्फत काठ्माण्डौं निकासी भएको हो ।

स्थानीय जडिबुटी संकलक एबं कृषक नरजीत राईले फेदीको पत्करुबाट ट्याक्टरमा हालेर दिक्तेल हुँदै काठ्माण्डौं निर्यात गरेको सव–डिभिजन वन कार्यालय बाक्सिलाका वनरक्षक खविराज राईले बताए ।

फेदीका अधिकांश लेकाली क्षेत्रमा खेर गइरहेका बुढो ओखती र सुगन्धवाल २०७४ सालदेखि संकलन गरेर बिक्री गर्न थालिएको हो । गाउँमा प्रतिकेजी ८० रुपैयाँदेखि सय रुपैयाँमा खरिद गर्न सकिने सुगन्धवालको गानो काठ्माण्डौंमा प्रतिकेजी डेढ सयदेखि दुई सयसम्ममा बिक्री हुने गरेको छ ।

यस्तै, संकलनकाक्रममा प्रतिकेजी ३० देखि ५० रुपैयाँ पर्ने बुढा ओखतीको गानो काठ्माण्डौं पु¥याएपछि प्रतिकेजी ८० देखि एक सय रुपैयाँका दरले बिक्री हुने गरेको जडिबुटी व्यवसायीको भनाई छ ।

बारीका कान्ला र पाखामा प्रशस्त मात्रामा उत्पादन हुने बुढो ओखती र सुगन्धवाललाई पछिल्लो समय किसानले संरक्षण गरेर आम्दानीको श्रोत बनाउन थालेका हुन् ।

बारीका कान्लामा आफै उम्रिएर खेर गइरहेका ओखती र सुगन्धवाललाई नरजीतले २०७५ साल असारमा तत्कालिन जिल्ला वन कार्यालयमा दर्ता गरेर व्यवसायीक रुपमा खेती नै सुरु गरिसकेका छन् ।

भाउ पाउन थालेपछि र आम्दानीको माध्यम बन्न थालेपछि अधिकांश किसानले बारीका कान्लामा उम्रिएका ओखती र सुगन्धवाललाई संरक्षण गर्न थालेका छन् ।

गत वर्ष पनि फेदीबाट ४० केजीको हाराहारीमा ठूलो ओखती निर्यात भएको थियो । ठूलो ओखती एउटै बोटमा एक सय ग्रामदेखि आधा केजीसम्म उत्पादन हुने गरेको किसानको भनाई छ ।

दिक्तेलबाट फेदी पुग्ने कच्ची सडक बिस्तार भएपछि जडिबुटी निकासी गर्न सहज भएको हो ।