बैंकमार्फत सासु वितरण गर्दा एक लाखभन्दा बढि रकम फिर्ता

जेठ ३० बिहिवार, २०७६
खोटाङ । बैंकमार्फत सामाजिक सुरक्षाभत्ता वितरण सुरु गरेपछि खोटाङको जन्तेढुंगा गाउँपालिका ५ चिसापानीमा १ लाख २० हजार भन्दा बढि रकम फिर्ता भएको छ ।

गत चैतदेखि सालपा विकास बैंकको शाखा कार्यालय चिसापानीबाट सामाजिक सुरक्षाभत्ता वितरण सुरु गरेपछि एक लाख २० हजार ८ सय रकम फिर्ता भएको हो ।

वडामा चार–चार महिनामा एकमुष्ट सामाजिक सुरक्षाभत्ता वितरण गर्ने गरिएकामा यस अवधिमा मृत्यु भएका, नाम दोहोरिएका र लगत कट्टा गरिएका १८ जनाको नामको सामाजिक सुरक्षाभत्ता फिर्ता भएको वडाध्यक्ष रामकुमार श्रेष्ठले बताए ।

सामाजिक सुरक्षाभत्ता वितरणलाई पारदर्शी बनाउन वडा कार्यालयले बैंकमार्फत भुक्तानीको व्यवस्था मिलाएको थियो ।

वडासँगको सहकार्यमा घर–घरमै पुगेर सामाजिक सुरक्षा भत्ताका लागि खाता खोलेको र हिँडेर बैंकसम्म आउन नसक्ने अशक्तलाई घरैमा लगेर सामाजिक सुरक्षा भत्ता दिने व्यवस्था मिलाइएको सालपा विकास बैंकका विभागीय प्रमुख दिपकर राईले बताए ।

‘वडाका ४६५ जनाका लागि २६ लाख ६७ हजार ६ सय रुपैयाँ सामाजिक सुरक्षा भत्ता निकासा भएको थियो,’ राईले भने, ‘वितरण गर्दै जाँदा १८ जनाको नामको रकम फिर्ता भएको हो ।’