साकेलाको बिदाईमा लोपोन्मुख शिली प्रदर्शन

जेठ ३२ शनिवार, २०७६
खोटाङ । खोटाङका किरात राई समुदायले लोपोन्मुख साकेला शिली प्रदर्शन गर्दै महान चाड साकेला उभौलीको बिदाई गरेका छन् ।

‘अन्नबाली सप्रियोस, रोगव्याधी नलागोस्, प्राकृतिक विपत्ति आई नलागोस्, सुव्यफाव्य होस्’ भन्ने कामनामा भूमी, पितृ र अन्नको पूजाआजा गर्दै जेठ ४ गतेदेखि मनाउन सुरु गरिएको एक महिने उभौली चाडलाई शनिबार लोपोन्मुख साकेला शिली प्रदर्शन गर्दै बिदाई गरिएको हो ।

दिक्तेलको माटिकोरे खेलमैदानमा आयोजित कार्यक्रममा प्रदेशसभाका सांसद उषाकला राईले तीन चुलामा आगो बालेर बृहत साकेला शिली प्रदर्शन एबं समापन कार्यक्रम उद्घाटन गरेकी थिईन् ।

किरात राई समुदायमा एकै दिन सुरु भएपनि साकेलाको बिदाई भने ठाउँ बिशेष फरक–फरक समयमा गर्ने प्रचलन रहेको किरात राई यायोक्खा खोटाङका उपाध्यक्ष सञ्जयकुमार राईले बताए ।

किरात राईको सँस्कृतिलाई प्रचार–प्रसार गर्दै संरक्षण गर्ने उद्देश्यले किरात राई यायोक्खा र किरात सेवा समाजले जिल्लामा साकेला चाडको सुवात र बिदाईमा बृहत साकेला शिली प्रदर्शन गर्ने परम्परा बसाएको छ ।

साकेला शिली प्रदर्शनीमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाभित्रका दिक्तेल, नेर्पा, दोर्पाचिउरीडाँडा, बाम्राङ, हलेसी तुवाचुङ नगरपालिकाको ऐसेलुखर्क, साकेला गाउँपालिकाको रतन्छा लगायतका किरात राई समुदायले आ–आफ्नो ठाउँ बिशेषको साकेला शिली प्रदर्शन गरेको किरात राई यायोक्खा खोटाङका अध्यक्ष हात्तीराम राईले बताए ।

साकेला चाडको बिदाईमा चारी शिली, तयामा–खियमा शिली, मोछामा शिली, द्यार्पा शिली, ककले, बेसारा, कुकरा लगायतका लोपोन्मुख शिली प्रदर्शन गरिएको छ ।

‘लोपोन्मुख बन्दै गएको शिली संरक्षणमा सबैको ध्यानाकर्षणकालागि साकेला पर्वको बिदाईमा शिली प्रदर्शनी गरिएको छ,’ अध्यक्ष राईले भने, ‘संस्कृतिमार्फत आपसी सदभाव र बन्धुत्व कायम गर्नका लागि पनि सामुहिक रुपमा साकेला प्रदर्शनी गर्ने गरिएको छ ।’

साकेला प्रदर्शनीस्थलमा खाल्लेका दिपक राईले तयार पारेका किरात समुदायसँग सम्बन्धित घरेलु उपकरण पनि राखिएको थियो ।