द्वन्द्व पीडित परिवारका लागि राहत रकम आयो

असार २ सोमवार, २०७६
खोटाङ । गृह मन्त्रालयले सशस्त्र द्वन्द्वको समयमा ज्यान गुमाएका तथा बेपत्ता पारिएका परिवारका लागि एक करोडभन्दा बढि राहत रकम पठाएको छ ।

सशस्त्र द्वन्द्वको समयमा मृत्यु भएका तथा बेपत्ता पारिएका व्यक्तिको नजिकको हकदारलाई प्रदान गर्नेगरी मन्त्रालयले आर्थिक वर्ष सकिन लाग्दा एक करोड २८ लाख ५० हजार रकम पठाएको हो ।

२०५२ साल फागुन १ गतेदेखि २०६३ साल मंसिर ५ गतेको अवधिमा ज्यान गुमाएका जिल्लाका १२६ सर्वसाधारण र ३९ सुरक्षाकर्मीमध्ये हालसम्म १० लाख पाउन बाँकी हकदारका लागि सहायता रकम आएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

सशस्त्र द्वन्द्वको क्रममा मृत्यु भएका तथा बेपत्ता पारिएका व्यक्तिका हकदारलाई हालसम्म पाएको रकम गणना गरी कुल १० लाखमा नबढ्ने गरी उपलव्ध गराउने शर्तमा रकम आएको सहायक प्रमुख जिल्ला अधिकारी श्याम राईले बताए ।

मन्त्रालयले जेठ २३ गते पठाएको पत्रमा हालसम्म सो रकम नपाएका वा रकम पाउनै छुट भएका द्वन्द्व पीडित परिवारले मात्र सो आर्थिक सहायता पाउने उल्लेख छ ।

द्वन्द्वको क्रममा मृत्यु भएका तथा बेपत्ता पारिएका व्यक्तिको हकदारलाई नेपाल सरकारबाट १० लाख राहत तथा आर्थिक सहायता उपलव्ध गराउने कार्यक्रम अन्तरगत गृहमन्त्रालयले पठाएको रकम आगामी असार १० गतेभित्र आवश्यक कागजातसहित लिन सकिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

‘द्वन्द्वकाक्रममा ज्यान गुमाएका सर्वसाधारण र सुरक्षाकर्मीका परिवारलाई १० लाख दिने सरकारको नीति अनुसार थप राहत रकम आएको हो,’ सहायक प्रमुख जिल्ला अधिकारी राईले भने, ‘१० लाख पाउन बाँकी परिवारले मात्र यो रकम पाउनेछन् ।’

द्वन्द्वकाक्रममा ज्यान गुमाएका परिवारलाई राज्यले यसअघि किस्ता–किस्तामा राहत तथा सहयोग रकम उपलव्ध गराउँदै आएको छ ।

ज्यान गुमाउनेमध्ये हालसम्म ३८ जनाले मात्र १० लाख लिन बाँकी रहेको प्रशासनले जनाएको छ । सरकारले द्वन्द्व पीडितका लागि अन्तिम पल्ट राहत तथा आर्थिक सहायता पठाएको हो