मृतक परिवारलाई बीमा रकम हस्तान्तरण

असार ६ शुक्रवार, २०७६
खोटाङ । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी उपशाखा खोटाङले एक बीमित मृतक परिवारलाई म्यादी जीवन बीमा रकम हस्तान्तरण गरेको छ ।

म्यादी जीवन वीमा गरेर वैदेशिक रोजगारीका लागि मलेसिया गएका हलेसी तुवाचुङ नगरपालिका”१० अर्खौलेका प्रेमबहादुर विश्वकर्माको परिवारलाई इन्स्योरेन्स कम्पनीले १४ लाखको बीमा रकमको चेक शुक्रवार हस्तान्तरण गरेको हो ।

इन्स्योरेन्स कम्पनीले मृतक विकको नावालक छोरा देवेन्द्र विकको नाममा जारी गरेको चेक नावालक देवेन्द्र र मृतकका बाबु भीमबहादुर कामीलाई प्राइम लाइफ इन्स्योरेन्स कम्पनी उपशाखा खोटाङका प्रमुख मातृका खतिवडाले हस्तान्तरण गरेका हुन ।

डेढ वर्ष अघि म्यादी जीवन बीमा गरेर मलेशिया पुगेका प्रेमबहादुरको २०७५ फागुन २९ गते मलेशियामै मृत्यु भएको कम्पनीले जनाएको छ ।

नावालक देवेन्द्रको नाममा सेन्चुरी कमर्शियल बैंक दिक्तेलमा खाता खोलेर राखिएको पैसा बालिग नहुन्जेलसम्म साँवा रकम झिक्न नमिल्ने गरी उनको पालनपोषण र पठनपाठनको लागि व्याज रकम बालकका हजुरबुवा भीमबहादुरले हरेक महिना पाउने व्यवस्था मिलाइएको इन्स्योरेन्स कम्पनीले जनाएको छ ।

मृतक विककोे घरमा बृद्ध बाबुआमा र ७ वर्षका एक छोरा छन् भने मृतकको श्रीमति गोमाले अर्कैसंग विवाह गरेर गएको विक परिवारले जनाएको छ ।