रुपाकोटमा निर्माण गरेको भ्यूटावर उद्घाटन

असार १९ बिहिवार, २०७६
खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले पर्यटकीयस्थल रुपाकोटमा भ्यूटावर निर्माण गरेको छ ।

पर्यटन प्रवद्र्धनका लागि भन्दै नगरपालिकाले खार्मी, सोल्मा र जालपाकोबिचमा रहेको रुपाकोटडाँडामा ३० फिट अग्लो फलामे भ्यूटावर निर्माण गरेको हो ।

नगरको २७ लाखको खर्चमा निर्माण गरिएको हिमालयन सनराईज रुपाकोट भ्यूटावर बिहिबार नगरका नगरप्रमुख दिपनारायण रिजाल र उपप्रमुख बिणादेबी राईले उद्घाटन गरेका छन् ।

करिब २ हजार ५ सय फिट उचाईमा रहेको रुपाकोटमा जमिनमुनि ८ फिट फाउण्डेसन ढलान गरिएको भ्यूटावर निर्माण गरिएको निर्माण उपभोक्ता समितिका उपाध्यक्ष सप्तमनी राईले बताए ।

टावर निर्माणकाक्रममा चाहिने विशेष किसिमको फलाम खरिद, ढुवानीका कारण भ्यू–टावरको काम चर्खिलो भएको निर्माण उपभोक्ता समितिले जनाएको छ ।

दिक्तेल बजारबाट करिब तीन घण्टा पैदल उकालो हिँडेपछि पुगिने रुपाकोटमा भ्यूटावरपछि क्रमशः बगैँचा, वनभोजस्थल, कृत्रिम पोखरी लगायतका भौतिक संरचना निर्माण गर्ने लक्ष्य राखिएको जनाइएको छ ।

कतिपय स्थानीयले भने ऐतिहासिक गढीको संरक्षणलाई ध्यान नदिइ कृत्रिम संरचना निर्माण गरिएको बताएका छन् ।

मौसम खुलेकोबेला सगरमाथा लगायतका हिम श्रृंखला देखि तराईका फाँट समेत देख्न सकिने रुपाकोटमा नयाँ वर्ष, साकेला चाड लगायतको अवशरमा आन्तरिक पर्यटकको भीड लाग्ने गरेको छ ।

नेपाल सरकारले छानेको एक सय वटा पर्यटकीयस्थलमध्ये ‘मुन्धुम ट्रेल’ पदमार्गले समेत छुने भएकाले रुपाकोटको पर्यटकीय महत्व थप बढेको स्थानीय बताउँछन् ।

हरियाली जंगलले घेरिएको ऐतिहासिक गढी, सिद्ध पोखरी, सिद्ध बाबाको मन्दिर, ठूलो आहाल, सानो आहाल, फराकिलो चौंर भएको रुपाकोटमा बिशेषगरी हिउँद याममा पिकनिकको भीड लाग्ने गरेको छ ।