सहकारीको ताला तोडेर चोरीको प्रयास

असार १९ बिहिवार, २०७६
खोटाङ । खोटाङको दिक्तेलबजारमा सञ्चालित लालुपाते सहकारी संस्थाको ताला तोडेर चोरीको प्रयास भएको छ ।

सहकारीको बैंकचोकस्थित कार्यालयमा बुधबार राती ताला तोडेर चोरीको प्रयास भएको प्रहरीले जनाएको छ ।

अज्ञात व्यक्तिले सहकारीको मुल ढोकाको ताला तोडेर काउण्टर कक्षको दराजको पनि ताला तोडेर पैसा राख्ने सेफ बक्स निकालेर तोड्ने प्रयास गरेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

सहकारीको दुई वटा सिसि क्यामेरा कपडाले छोपेर र हातमा पञ्जा हालेर कार्यालय तोडेको पाइएको छ ।

दराजबाट निकालिएको डेढ सय केजीभन्दा बढि तौल भएको सेफ बक्स पनि कुच्याइएको अवस्थामा फेला परेको छ । सेफ बक्स नफुटेपछि पैसा चोरी हुनबाट जोगिएको छ । २०७४ साल चैत २९ गते राती पनि ताला तोडिएको सहकारीको पुःन ताला फोडेर चोरीको प्रयास भएको हो ।

यस्तै, दिक्तेलबजारकै अम्बागाछीस्थित कपडा व्यवसायी टंकप्रसाद आचार्यको पशलमा पनि ताला तोडेर चोरीको प्रयास भएको छ । पछाडिपट्टिको ढोकाको ताला तोडेर कपडा पसलको गल्ला खोलेको पाइएको छ । पशलको ¥याकबाट केही जोर जुत्ता समेत भुँईमा झारेर छाडेको पाइएको आचार्यले बताए ।

जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय रहेको बीचमा रहेका दिक्तेलबजारमा पटक–पटक चोरीका घट्ना हुँदैआएको छ । पछिल्लो समय नगरपालिकाले दिक्तेलबजारका विभिन्न ठाउँमा सिसि क्यामेरा जडान गरेपनि चोरी रोकिएको छैन ।