हलेसीको सिँढी बनि नसक्दै चर्कियो

साउन ७ मंगलवार, २०७६
खोटाङ । खोटाङको त्रिधार्मिकस्थल हलेसीमा रेलिङ सहितको सिँढी बनिनसक्दै चर्किएको छ । हलेसीको बसाहाथानबाट रिट्ठाबोटेसम्मको रेलिङ सहितको सिँढी निर्माणको काम सम्पन्न नहुँदै चर्किएको हो ।

प्रदेश सरकारले हलेसी महादेवस्थान विकास समितिमार्फत उपलव्ध गराएको ३० लाख बजेटबाट साविकको पुरानो सिँढी तोडेर ५ मिटर फराकिलो सिँढी बनाउने गरी थालिएको काम अन्तिम चरणमा पुगेपछि पुःननिर्माण गर्नुपर्ने अवस्थामा पुगेको हो ।

हलेसी बसाहागुफा रिठाबोटे सिँढी रेलिङ निर्माण समितिले माटो फिलिङको काम राम्ररी नगरी ढलान गर्दा सिँढी चर्किएको प्राविधिकको भनाई छ ।

निर्माण समितिले सिँढीभन्दा तलबाट स्ट्रक्चर पर्खाल उठाएर माटो फिलिङ गरेर ढलान गरेको छ । तर, माथिदेखि तलसम्मै सिँढीको ढलान चर्किएको छ । छेउमा फूलबारी, त्यसभन्दा भित्र रेलिङ र त्योभन्दा पनि भित्र हिँड्ने सिँढी बनाउने गरी योजनाको काम थालिएको हो ।

तलबाट पर्खाल उठाएपछि बीचमा माटो फिलिङ गरेर आवश्यक मात्रामा धुर्मुस नहाल्दा समस्या निम्तिएको देखिएको हलेसी महादेवस्थान विकास समितिका कार्यकारी निर्देशक सम्बर भुजेलले बताए ।

‘अग्लो वाल उठाएर त्यहीमाथि फिलिङ गर्दा उपभोक्ता समितिले राम्ररी धुर्मुस लगाएनछन्,’ कार्यकारी निर्देशक भुजेलले भने, ‘सिँढी चर्किएपछि पुःननिर्माण गरेर मात्र हस्तान्तरण गर्न निर्माण समितिलाई भनिसकिएको छ । क्वालिटी र क्यान्टीटीमा सम्झौता हुन्न ।’

प्राविधिकका अनुसार फिलिङ गरेको माटोलाई धुर्मुसले थिचेर त्यसमाथि १५ सेन्टी मिटर लेयर राखेर ढलान गर्नुपर्ने हुन्छ । तर, फिलिङ गरिएको माटोलाई सिधै डम्पिङ गरेर त्यसमाथि हेभीवेट स्ट्रक्चर बनाउँदा ढलान चर्किएको हो । सुक्खा याममा फिलिङ गरेर बनाइएको ढलान वर्षाको पानीले भिजेर खाँदिएको र भासिँदा सिँढी चर्किएको स्ययं निर्माण उपभोक्ता समितिका अध्यक्ष देवराज राईले बताए ।

‘फिलिङ गरेको माटोलाई केही महिना राखेर ढलान गर्नुपर्ने थियो । तर, समय छोटो भएकाले हतारमा तत्काल ढलान गर्नुप¥यो,’ अध्यक्ष राईले भने, ‘बाहिरको स्ट्रक्चर वाल दरो छ । तर, रेलिङ राखेको भागमा गार्डेन राख्नाले वर्षाको पानी छिरेर दबियो र क्र्याक भएको हो ।’ असार २२ गतेदेखि परेको वर्षापछि ढलान चर्किएको हो ।

असार मसान्तभित्र पूरा गर्नेगरी सिँढी निर्माणको काम जेठमा सम्झौता गरिएको थियो । तर, बनिनसक्दै सिँढी चर्किएपछि उपभोक्ता समितिले पुःननिर्माणको काम गरिरहेको वडाध्यक्ष चइन्द्र राईले बताए ।

प्रदेश सरकारले आर्थिक वर्षको अन्तिममा रकम पठाउँदा हतारमा काम सक्न खोज्दा गुणस्तरहिन काम भएको कतिपयको गुनासो छ । सिँढी निर्माणको काम गुणस्तरहिन भइरहेको भए पनि स्थानीय तह मातहतमा काम नभएकाले रखबारी गर्न नसकिएको हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख इवन राईले बताए । ‘कहाँबाट बजेट आयो, कति आयो, केका लागि आएको भन्ने हामीलाई नै जानकारी छैन,’ नगरप्रमुख राईले भने, ‘तर, जे भइरहेको छ, गुणस्तरहिन भइरहेको छ ।’

बसाहागुफाबाट मन्दिर अगाडिसम्मको सिँढी यसअघि नै बनिसकेको छ । किरात, हिन्दु र बौद्ध धर्मावलम्बीको त्रिधार्मिक स्थलका रुपमा रहेको हलेसीमा धार्मिक तथा पुरातात्विक हिसावले उपयुक्त संरचना भने बनिरहेका छैनन् ।