भगिनी सम्बन्ध जोड्दै दिक्तेलबजारमा बृहत लाखेनाच प्रदर्शन

साउन २५ शनिवार, २०७६
खोटाङ । खोटाङको दिक्तेलबजारमा बृहत लाखेनाच प्रदर्शन गरिएको छ । ओखलढुंगा र खोटाङका नेवार समुदायहरुले विशेष दिनको अवसर पारेर लाखेनाच प्रदर्शन गरेका हुन् ।

ओखलढुंगाको पारस्परिक सहयोगी गुठी र दिक्तेलबजार सामाजिक गुठीमा आवद्ध नेवार समुदायहरुले शनिबार दिक्तेलबजारको हाँटडाँडादेखि रत्नपार्कसम्म लाखेनाच प्रदर्शन गरेका हुन् ।

नेवारी संस्कार र संस्कृतिलाई अझै चिनाउन तथा लोप हुंदै गएका विभिन्न संस्कारसंस्कृतिको जर्गेना गर्नका लागि दुई गुठीबीच भगिनी सम्बन्ध समेत कायम भएको दिक्तेलबजार सामाजिक गुठीका सचिव नुरकाजी सैंजुले बताए ।

सैंजुका अनुसार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर प्रमुख दिपनारायण रिजाल, उपप्रमुख विणादेवी राई र सिद्धिचरण नगरपालिकाका नगरप्रमुख मोहनकुमार श्रेष्ठको रोहवरमा भगिनी सम्बन्ध कायमपछि लाखेनाच सुरु गरिएको थियो ।

नेवारी समुदायले दिक्तेलमा जनैपूर्णिमाबाट लाखेनाच सुरु गरी कृष्ण जन्मअष्टमी भोलीपल्ट विधिवत रुपमा समापन गर्ने गर्छन् । परापूर्वक कालमा काठमाण्डौ उपत्यकामा पातलो वस्ती भएको, वस्तीमा मान्छे, वालवालिका हराउने गर्दर्थे । कसरी हरायो भनेर खोजी गर्दा पनि नभेटिएको र तान्त्रिकहरुले जोखना हेर्दा वालवालिका तथा मान्छेहरु राक्षसले लाने रहेछ, दिक्तेलबजार सामाजिक गुठीका सचिव सैंजुले भने, ‘मानिस र वालवालिका लाने राक्षसहरु त खेद्नुपथ्र्यो ।

राक्षसको ठूल्ठूला हुलहुज्जत हुने भएकाले, तिमीहरुभन्दा वलवान छौ भन्ने तवरले नेवारी समुदायका सोनाहरुले ठूल्ठूला राक्षसको रुप धारण गरी राक्षस खेदेका थिए । त्यहीबाट लाखे सुरु भएको पौरणिक किंवदन्ती रहेको छ ।’ राक्षसको स्वरुप भएको मुखुन्डो पहिरिएर वालवालिकाहरुको रक्षाका लागि र दुष्ट आत्माहरुलाई खेद्न लाखे मनाउन थालिएको कथन पाईन्छ ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस् ।