खोटाङमा रोपाई जात्राको रौनक

साउन ३२ शनिवार, २०७६
खोटाङ । ‘आज न रोपाई कहाँ चल्यो दिक्तेल बजारैमा, बहिनीको छेउको बीउ टिपी फाल्देउ त्यता आउन भ्याइन, त्यता आउन भ्याइन ।’

प्रस्तुत गीत रोपाई जात्राको अवशरमा खोटाङका नेवार समुदायले गाएका हुन् । गायक तुलसी पराजुलीको ‘आज र मादल कहाँ बज्यो सुनकोसी किनारैमा, कान्छीको छाता ढल्काइदेउ यता घाम प¥यो निधारैमा’ बोलको गीतको लयमा आधारित प्यरोडी गीत गाउँदै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नेवार समुदायले रोपाई जात्रा मनाएका छन् ।

दिक्तेलस्थित माटिकोरे खेलमैदानमा शनिबार स्टेजबाट गायक/गायीकाले वाद्य वाद्यनकासाथमा लय हालेर प्यारोडी गीत गुञ्जाए । खेलमैदानमा हाकुपटासीमा सजिएकी नेवार समुदायका महिलाले हातमा बीउ लिएर धान रोपेझैं गरेर नृत्य प्रस्तुत गरेका छन् ।

माटिकोरे खेलमैदानमा डोरीको घेराबारा हालिएको प्रांगणमा पंक्तिवद्ध भएर प्रस्तुत गरिएको नेवार समुदायको साँस्कृतिक नृत्य हेर्ने स्थानीयको उत्तिकै बाक्लो भीड लागेको थियो ।

असारे गीतको तालमा हलो जोत्ने, बाउसे गर्ने, धानको बीउ रोप्ने लगायतका कृषिजन्य क्रियाकलाप गर्दै रोपाईको झल्को दिनेगरी रोपाई जात्रा मनाइएको हो । रोपाई जात्राकाक्रममा खेताला, बाउसे, रोपाहार र जिम्मेवाल लगायतको भूमिकाले दर्शकको मन तानेको थियो ।

नेवार समुदायमा गाईजात्रा अन्तरगत रोपाई जात्रा मनाउने गरिन्छ । विशेषगरी धान रोप्ने काम सकिएको खुसीयालीमा रोपाई जात्रा मनाउने प्रचलन रहिआएको दिक्तेलबजार सामाजिक गुठीका सचिव नुरकाजी सैंजूले बताए ।

दिक्तेलको सरस्वती आधारभुत विद्यालय पोखरी, रत्नपार्क, पुरानोबैंकचोक र भानुचोक लगायतका क्षेत्रमा देखाउने गरिएको रोपाई जात्रा यस पल्ट दर्शकलाई ध्यानमा राखेर माटिकोरे खेलमैदानमा प्रदर्शन गरिएको हो ।

खुला ठाउँमा सबैले सहज तरिकाले रमिता हेर्ने भएकाले खेलमैदानमा रोपाई जात्रा प्रदर्शन गरिएको आयोजकले जनाएको छ ।

‘रोपाई जात्राको पराम्परागत मूल्य र मान्यता त छँदैछ,’ सचिव सैंजूले भने ‘रोपाई यसरी गरिन्छ भनेर जानकारी दिँदै कृषिलाई जीवन्त दिन पनि यसको उत्तिकै महत्व छ ।’ रोपाई जात्रामा हास्या–ब्यांग्य प्रहसन, नाटक तथा नेवारी नृत्य समेत प्रस्तुत गरिएको छ ।

रोपाई जात्रासँगै दिक्तेल, सोल्मा, खाल्ले लगायतका नेवार समुदायले लाखे नाच पनि नाचिएको थियो । रोपाई जात्रापछि नेवार समुदायले असारे गीत गाउँदै रमाईलो गर्दै बजार परिक्रमा गरेका छन् ।