किराती मिथकमा आधारित म्यूजिक भिडियो सार्वजनिक

भदौ ३ मंगलवार, २०७६
खोटाङ । किराती मिथकमा आधारित गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । किराती पूर्खा तायामा, खियामा र हेत्छाकुप्पाको मिथकमा आधारित ‘नाना तायामा’ बोलको गीतको म्यूजिक भिडियो शुक्रबार सार्वजनिक गरिएको हो ।

गीतकार भूपाल राईको शब्द र दिनेश सुव्वाको संगीत रहेको गीतको म्यूजिक भिडियो ललितपुरस्थित यालाखिम रेष्टुरेष्टमा एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको हो ।

गायक रुपकुमार राई र राधा राईले स्वर दिएको मिथकीय गीतको म्यूजिक भिडियोमा शेसुका राई, अस्मिता राई र रामदीप राईको अभिनय देख्न सकिन्छ ।

६ मिनेट ३३ सेकेण्डको म्यूजिक भिडियो युवराज राईको निर्देशन तथा छायांकन, दिनेश माङबोको कोरियोग्राफी, चाँद सिंको एरेञ्ज र महेश्वरमान राजभण्डारीको मिक्सिङ मास्टरिङमा तयार पारिएको हो । तायामा (दिदी), खियामा (बहिनी) र हेत्छाकुप्पा (भाई) किराती पूर्खा हुन् ।

सानैमा टुहुरा–टुहुरी भएको अवस्थामा तीन माईतीचेलीले पाएको÷भोगेको पीडा, संघर्ष, वियोग र संयोगको कथालाई गीतमा समेटिएको छ । मिथक अनुशार भोकले सताइएका भाई हेत्छाप्पा एक दिन अगेनामा पाक्न लागेको खाना देखेर हर्षले रमाउँदै उफ्रिन्छ ।

तर, अचानक दाउरा टेक्न पुग्दा पाक्न लागेको खाना घोप्टिन पुग्छ र हेत्छाकुप्पाको रुवावासी चल्छ । रुँदा–रुँदा हेत्छाकुप्पा धेरैबेरसम्म निदाउँछ । तायामा र खियामाले उठाउँदा पनि हेत्छाकुप्पाले थाहा पाउँदैन र निदाइ रहन्छ ।

उठाउँदा पनि नउठेपछि भोकले भाईको मृत्यु भएको ठानेर दिदि तायामा लेकतिर र बहिनी खियामा बेँसीतिर हिँड्छिन् । धेरैबेरपछि हेत्छाकुप्पाको निद्रा खुल्छ तर, वरपर दिदिहरु देख्दैनन् । त्यसपछि एक्लै शिकार गर्दै दुःखकासाथ जीवन गुजारा गर्न थाल्छन् । हेत्छाकुप्पा जवान हुन्छन् । विहे गर्ने बेला हुन्छ ।

विहेमा चेलीको उपस्थिति अनिवार्य हुन्छ र हेत्छाकुप्पाले आफ्नो हराएको चेलीको खोजी गर्छन् । अन्तमा हेत्छाकुप्पाले पठाएको भालेले तायामा र खियामालाई पत्ता लगाएर बिहेमा ल्याउँछन् ।

बाल्यकालमा छुटेका माईतीचेलीको भेट हुन्छ । हर्षकाबीचमा हेत्छाकुप्पाको विहे हुन्छ । माईतीचेलीबीचको दूरी नजिक हुन्छ । यही मिथकलाई गीत तथा म्यूजिक भिडियोमा उतारिएको निर्माणपक्षले जानकारी दिएको छ ।