नगरक्षेत्रलाई व्यवस्थित वनाउन अनुगमनलाई तीव्रता

 

भदौ ६ शुक्रवार, २०७६
खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नगरक्षेत्रलाई व्यवस्थित वनाउन अनुगमनलाई तीव्रता दिएको छ । नगरपालिकाले विशेषगरी दिक्तेलवजारलाई केन्द्रीत गर्दै अनुगमनलाई तीव्रता दिएकोे हो ।

नगरपालिकाले पछिल्लो समय उपभोक्ताहित संरक्षण तथा सडक व्यवस्थापनलाई मध्येनजर गर्दै दिक्तेलवजारमा निरन्तर अनुगमन गरिरहेको छ ।

सडक किनारमा यत्रतत्र राखिएका निर्माण सामग्री, सवारीसाधन तथा बिक्री प्रयोजनका लागि राखिएका सामग्रीका कारण वजार अस्तव्यस्त वनेपछि अनुगमन टोलीले शुक्रवार दिक्तेलवाजारभित्र पर्ने सडक किनारमा राखिएका निर्माण सामाग्री तत्कालै हटाउन सुझाव दिएको छ ।


पटक–पटक सुझाव दिँदा पनि सम्वन्धित व्यक्तिले अटेर गरी निर्माण सामाग्री तथा सवारी साधनहरु जथाभावी राख्ने गरेका कारण कठोर वनेर नियमानुसार कार्वाहीमा उत्रने अवस्था आएको नगरप्रमुख दिपनारायण रिजालले बताए ।

दिक्तेलवजार हाल तीव्र्र निर्माणको चरणमा भएको कारण यत्रतत्र सामान राख्न बाध्य भएको वजारवासीको भनाईछ । वजारमा अधिकांश पुराना घरहरु भत्काई हाल कंक्रिटका नयाँ घरहरु वनाउने क्रम बढेको छ ।

नियम तथा मापदण्ड विपरित सडकमा राखिएका त्यस्ता सामग्रीहरु एक साताभित्र व्यवस्थापन गर्न अर्थात सडकवाट हटाउन निर्देशन दिइएको अनुगमन टोलीका संयोजक सिताराम खतिवडाले जानकारी दिए ।

उपप्रमुखको संयोजकत्वमा रहने उपभोक्ताहित संरक्षण समिति अन्र्तगत गठित अनुगमन टोलीले नगरभित्रका वजारहरुमा निरन्तर अनुगमन गर्ने जनाएको छ ।

नगरपालिकाले वजार अनुगमन निर्देशिका २०७५ तयार गरी वजार व्यवस्थापन तथा उपभोक्ताको हितमा नियमित वजार अनुगमन सुरु गरेको हो ।

नगरपालिकाका वजार अनुगमन शाखाका प्रमुखको संयोजकत्वमा गठित अनुगमन टोलीमा सम्वन्धित विषयगत क्षेत्र, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, उपभोक्ताहित संरक्षणमा क्रियाशिल संस्था, उद्योग वाणिज्य संघ र पत्रकार महासंघको प्रतिनिधि समावेश गरिएको छ ।


अनुगमन टोलीले बिहिवार पनि दैनिक उपभोग्य सामानका पसलहरु अनुगमन गरेको थियो । टोलीले विक्रेता अर्थात सेवाप्रदायक नियमक निकायवाट कानुन वमोजिम प्रदान गरिने कागजात, सो कागजातको नविकरण, व्यवसायको साईनवोर्ड, मूल्यसूची, परिमाण, मूल्य, गुणस्तर तथा नाप–तौल, प्याकेजिङ आदिका विषयमा अनुगमन गरिरहेको छ ।

वजार अनुगमन टोलीले दिक्तेलको अस्पताल चोकबाट आचार्य गाउँ जाने सडक आसपासका विहिवार १५ वटा पसल अनुगमन गर्दा ७ वटा पसल दर्ता नगरी सञ्चालन गरेको पाइएको जनाएको छ ।