तीज महोत्सव सम्पन्न

प्रकाशित मिति स् भदौ २७ बुधवार, २०७५

संस्कार संस्कृतिको संरक्षण एबं प्रवद्र्धनका लागि खोटाङमा आयोजित सकिएको छ । लोपोन्मुख बनेको संगिनी नाच, मारुनी नाच, पञ्चैबाजा कुसुले नाच, धुपीधुपी नाच प्रदर्शन एबं तीज सम्बन्धी लोकदोहोरी प्रतियोगीता गर्दै जारी तीज महोत्सव बुधबार सकिएको हो ।


बहुआयमिक संरक्षण समाज दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलले तीजको अवशरमा आयोजना गरेको महोत्सवमा आयोजित लोकदोहोरी प्रतियोगीतामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल प्रथम, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल पुरानो गाउँ सेवा समिति दोश्रो, राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान शाखा दिक्तेल तेश्रो र श्रृर्जनशिल समुह निगाले सान्तवना भएका छन् ।

‘खोटाङ जिल्ला दिक्तेल बजार, संस्कृतिलाई जोगाऔं हजुर’ बोलको लोकदोहोरी प्रतियोगीताका बिजेता समुहलाई क्रमशः नगद १० हजार, ६ हजार, ३ हजार र १ हजारका साथमा प्रमाणपत्र प्रदान गरिएको छ । लोकदोहोरी प्रतियोगीतामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको खाल्ले, भुलभुले समुह नेर्पा, पञ्च माबि टोल सुधार समिति, पुष्पाञ्जली भजन समुह लगायतका १० समुहको सहभागीता रहेको थियो ।


यस्तै, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाकै खाल्ले, नोभे टोल कृषक समुह, गुप्तेश्वर सेवा समिति नेर्पा, दिक्तेलबारी भजन कृतन समुह, संगमटोल दिक्तेल, कुडारबारी भजन कृतन समुह, रत्नपार्क संगिनी नाच समुह, सकृया भजन टोली र पञ्च माबि माझटोल सुधार समितिमा आवद्ध महिलाले संगिनी नाच प्रदर्शन गरेका छन् ।

 

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलले पञ्चेबाजा र कुसुले नाच प्रदर्शन गरे । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङले मारुनी नाच प्रदर्शन गरेको तीज महोत्सव आयोजना गरिएको बहुआयमिक संरक्षण समाजका अध्यक्ष अनिल आचार्यले बताए । महोत्सवमा तीन समुहले लोपोन्मुख बनेको धुपीधुपी नाच देखाएर सहभागीलाई मनोरञ्जन दिलाएको आयोजकले जनाएको छ ।

 

युवापुस्तालाई लोप हुन लागेको संस्कार, संस्कृतिका विषयमा जानकारी गराउँदै संरक्षणका लागि जागरुक बनाउन हरितालिका तीजको अवशर पारेर महोत्सव आयोजना गरिएको बहुआयमिक संरक्षण समाजका अध्यक्ष आचार्यले बताए । ‘बावुबाजेको अन्त्यसँगै हाम्रो अमूल्य संस्कार–संस्कृति लोप हुँदै गइरहेका छन्,’ अध्यक्ष आचार्यले भने, ‘लोपोन्मुख संस्कार संस्कृतिको संरक्षणका लागि सवैको ध्यानाकर्षण गराउनका लागि तीज महोत्सव गरिएको हो ।’

 

कुसुले र पञ्चेबाजा नाचका सहभागीलाई ११ हजार, मारुनी ३/३ हजार र धुपीधुपी नाचका सहभागीलाई १/१ हजारका साथमा प्रमाणपत्र प्रदान गरिएको छ । विभिन्न जातजातीको भाषा, धर्म, चाडपर्व, संस्कार संस्कृतिको प्रचार–प्रसार गर्दै संवद्र्धनको प्रयास स्वरुप २०७४ सालदेखि प्रत्येक वर्ष तीज महोत्सव सुरु गरिएको मुल आयोजक समितिका संयोजक बिन्दा थापाले बताईन् ।