सधैँ कुशे औंसी

पवन प्रताडित

बुबा,
तपाइँलाई थाहा छ ?
आज पात्रोमा कुशे औंसी परेछ नि !
कुशे औंसी अर्थात् तपाइँको मुख हेर्ने दिन
हरेक दिन तिथि मिति हेर्न
लालयित तपाइँका आँखा
आज किन पात्रोमा परेनन् ?
तपाइँलाई सम्झना छ ?
परार साल त
यो तिथिभन्दा अघिदेखि नै
तपाइँ र म सँगै थियौँ
हरेक दिन तपाइँको मुख म हेरिरहेकै हुन्थेँ
तर समयले हामीलाई यसपाला
दूर–दूर बनाइदियो
यसपाला हामी
समुद्रको वल्लो र पल्लो किनारजस्तै भयौँ ।

 

समय सँधै एकनासको नहुदो रै’छ
नभए यसो सम्झनोस् त–
बाल्यकालदेखि नै तपाइँ
खै के पीडा, रहर वा संगतले हो
होस नहराएसम्म रक्सी पिउनुहुन्थ्यो रे
साँझ परेसँगै बास बस्न
तपाइँलाई कुनै घर चाहिँदैथ्यो रे
धेरैजसो रातहरू
पाउले टेक्ने बाटोलाई
सिरानी जत्तिकै प्रिय सम्झी
शिर टेकाएर बिताउनु हुन्थ्यो रे
न गाँसको टुंगो, न बासको टुंगो
बेप्रवाह बितेछ
ऊ बेला तपाइँको जिन्दगी ।

 

नशाले मत्त तपाइँ
के सोच्न भ्याउनुहुन्थ्यो–
घरमा श्रीमती र छोराछोरी भोकै छन् भनेर
आमाले तपाइँलाई तथानाम गाली गरेका बेला
अनुहारमा पश्चात्तापका धर्साहरू कोरिएको
मैले कतिपल्ट स्पष्ट देखेको छु ।

 

कतै कतै सुनेको थिएँ–
नानीदेखि बसेको बानी
त्याग्न मुश्किल हुन्छ अरे
सायद तपाइँलाई पनि त्यस्तै भयो
र त क्यै गरी परिवर्तन आएन तपाइँमा
तर अपवाद ! ! !
आज समयले कोल्टे फेरेको छ
तपाइँको जीवनकालको
पचास वर्ष लामो कालखण्डपछि
आज तपाइँ
लड्ने बेलामा उठ्ने कोसिस गर्दै हुनुहुन्छ
जिन्दगीको उत्तराद्र्धमा आएर
तपाइँमा कसैलाई पत्यार नलाग्ने
अनौठो परिवर्तन आएको छ
रक्सी बिना बाँच्न सक्दिनँ जस्तो गर्ने तपाइँ
अचेल
रक्सी पिए मरिन्छ झैँ गर्दै हुनुहुन्छ
पिउनुको सट्टा
नपिउनु भन्ने पाठ सिकाउनमा
तपाइँको आधा बढी समय बितेको छ
परिवारप्रतिको आफ्नो जिम्मेवारी
बोध गर्दै हुनुहुन्छ ।

 

संघर्ष त तपाइँले
ऊ बेला पनि गरेकै हो
तर उपलब्धि शून्य थियो
फरक यति हो
त्यसताका आफ्ना लागि मात्रै गर्नुभयो
आज हामी सबैका लागि गर्दै हुनुहुन्छ
हुनु/नहुनु अलग कुरा
आज तपाइँ सयमा सय
हाम्रा लागि केही होस् भनेर
संघर्ष नामको मैदानमा उत्रनुभएको छ ।

 

हे मेरो प्राणप्रिय बुबा !
मेरो प्रेरणाको प्रतिमूर्ति !
सबैले पिताको मुख हेर्ने यो दिन
बुढेसकालले छोएको तपाइँलाई
हेर्न, मिठो खान वा राम्रो लाउन दिनमध्ये
मैले केही गर्न त सकिनँ नै
तर आज एउटा प्रण गर्छु–
हिजोलाई बिर्सिएर
आज तपाइँले देखेको सपना
साकार पार्ने कठिन प्रयास मेरो रहनेछ ।

 

आजको दिन सबैजसोले
दुर्लभै सम्झिनेहरूले पनि
अभिनय गरेर एकपल्ट
आफ्ना पितालाई सम्झे होलान्
तर मैले त उहिल्यैदेखि
मनैमा टाँसेको छु तपाइँको तस्विर
स्मृतिपटमा छ तपाइँको आकृति ।

 

किनकि मलाई थाहा छ–
यो एकदिनको कुशे औँसी हो
जो हरेक वर्ष
एकपल्ट आउँछ/जान्छ
मेरो मनको कुशे औँसी त
जान जान्दैन
सँधै आइरहन्छ ।

लेखक : सामुदायिक रेडियो हलेसी एफएम खोटाङमा आबद्ध छन् ।