तीज, नारी स्वच्छन्दता र विकृति
कृष्णबहादुर बुढाथोकी
भदौ १७ मंगलवार, २०७६
खोटाङ ।
नेपाल बहुसंस्कृतिको धनी मुलुक हुनाले यहाँ विभिन्न संस्कारका सम्प्रदाय, जातजाति र धर्म मान्नेहरुका अनेकन पर्वहरु छन । जसमध्ये खस, आर्य र अन्य महिलाहरुले मान्दै आएको रमाइलो पर्व हो तीज । विशेष गरी हिन्दु महिलाले मनाउने यस पर्वले नारी अस्मिता र स्वच्छन्दतालाई घुमौरो पारामा स्थापित गरेको छ । तीज पर्वले बाहिरी रुपमा धार्मिक, आध्यात्मिक महत्व बोकेको भए पनि आन्तरिक रुपमा सामाजिक र लिङ्गीय महत्व बोकेको छ ।
हरेक वर्ष भाद्रशुक्ल द्वितियाको दिन अनेकन परिकार खाने र भोलिपल्ट तृतियाको दिन निराहार व्रत बसेर यो पर्व मनाउने गरिन्छ । यसलाई दर खाने भनिन्छ । यस पर्वमा अविवाहित (कुमारी) हरुले चाहेको मनोरथ पूर्ण हुने विश्वास राखेका हुन्छन् भने विवाहित नारीले पतिको दिर्घायुको कामना गरी आजीवन सौभाग्यवती हुन शिव मन्दिरमा महादेवको पूजाआराधना गरी व्रत बस्ने चलन छ । सतहमा हेर्दा यसले धार्मिक र सास्कृतिक महत्व बोकेको छ भने वास्तविक अर्थमा नारी स्वतन्त्रता र स्वच्छन्दताको डबलीमा दौडिएकोे छ । समाजले दिदीबहिनीहरुको भेटघाट र रमाइलो पर्वका रुपमा बुझेको छ । गहन अर्थमा वर्षभरी भोगेका पीडालाई बिर्सिएर उन्मुक्त हुने पर्वको नाम हो हरितालिका तीज ।
तीज पर्वको एउटा कहावत नेपाली समाजमा व्यङ्ग्यका रुपमा प्रयोग हुदै आएको छ, “तीजका कुरा गरम् न खाएजस्तो हुन्छ ।” यो लोकोक्तिले गहन परिभाषा लुकाएको आभास हुन्छ । नेपाल पुरुषप्रधान सामाजिक व्यवस्था भएको देश हो । छोरी पराइ घरमा जानुपर्ने र अपरिचित मानिसलाई रिझाउन पर्ने वाध्यता छ । छोरी, बुहारी बनेर कर्म घरमा जानु भनेको दासको रुपमा बस्न कानुनी मान्यता पाएको बुझिन्थ्यो । बुहारीले बुहार्तन भोग्न पर्छ भन्ने संस्कारको विकास भएको थियो । परिवारमा बुहारीलाई खानपानदेखि हरेक कुरामा विभेद गरिन्थ्यो । बुहारीले सहनुपर्ने यो दर्दनाक अवस्थालाई बुहार्तन भन्ने गरिन्थ्यो र बुहार्तन नखेपे पक्का बुहारी नहुने तर्क राखिन्थ्यो । यस फाँटको प्रमुख कारिन्दा सासुहरु हुन्थे । विचरा सासुहरुले हाम्रा छोरीहरु पनि कसैका बुहारी हुन्, यिनीहरुलाई छोरीको दर्जामा राख्नुपर्छ भन्ने हेक्का समेत नभएको पाइन्छ । आमाबाबु र माइती घरानाको इज्जतका निम्ति पनि छोरीले पराइ घरमा नारकीय व्यवहार (बुहार्तन) सहनु पर्ने हुन्थ्यो ।
दासझैं काममा जोतिनुपर्ने, मिठोचोखो समयमा खान नपाउने, बिहानीको भोरसँगै मेलापात, दाउराघाँसमा जाने, बेलुका गोधुलीपछि घर फर्कने, चुलो, चौको, जुठोभाँडा, जाँतोढिकीमा पिंधनकुटन गरी सासु र पतिको गोडा मालिसपछि बल्ल तेस्रो प्रहरमा आराम गर्न पाउने बुहार्तनबाट आजित छोरी (बुहारी) लाई क्षणिक मुक्ति दिन तीज पर्वको थालनी भएको हुनसक्छ । खसआर्य समुदायमा बढी महत्व पाएको यस पर्वमा वर्षभरीको काम र तनावबाट छुटकरा लिएर नारीहरु जन्म घर जान्छन्, सहेली, दिदीबहिनी समेत भई आनन्द लिनछन् भने कर्मघरका बुहार्तन बिर्सन्छन् र आफू स्वतन्त्र भएको महसुस गर्छन् ।
तीज पर्वको महत्वपूर्ण पक्ष नारी स्वच्छन्दतासँग निकटस्थ रहेको छ । कठोर यातना भोगी कैदी कैद मुक्त भएझैं उन्मुक्त हुन्छन् । सामुहिक रुपमा साथी, सहेली र दिदीबहिनी मिलेर नाचगान गरी रमाइलो गर्छन् । आफूले भोगेका कष्टदायी अवस्थालाई गीत बनाएर मनका बह पोख्छन् र दुःख साटासाट गर्छन् । यसलाई तीज पर्वको मौलिक पाटो मानिन्छ । विशेष गरी नारीहरुको सुखद जीवनको कामना गरी थालनी भएको यस पर्वमा सबै नारीहरु यथार्थ हुदै अति यथार्थ र छाडावादतिर पनि पुग्नथालेको देखिन्छ । तीज पर्वमा संगिनीमार्फत् कर्म घरमा सासुससुरा, देवर देवरानी, नन्द, आमाजु, जेठाजु, जेठानी, छरछिमेकी र नातागोताले गरेका असल, खराब व्यवहारलाई गीत र संगिनीका माध्यमबाट लयात्मक अभिव्यक्ति दिन्छन् । जसले नारी जीवनका मार्मिक पक्षको उजागर गरेको हुन्छ । नारी अस्मिता र सहनशिलतालाई पोखेको हुन्छ । तीजको अवसरमा हरेक नारीले वर्षाैंदेखि भोगेका दमन र उत्पीडनलाई सप्रमाण ओकलेका हुन्छन् । हासो र खुशीलाई एकसाथ पोख्न र आत्म सन्तुष्टि लिने यो पर्व नारी स्वतन्त्रताको कोसेढुङ्गा हो । मौलिकताले सजिएको यस पर्वले नेपाली समाजको वस्तुसत्य दर्शाएको छ भने भिन्न पहिचान कायम गरेको छ ।
हिजोआज यस पर्वको मौलिकता र मानव जीवन शैलीमा पनि परिवर्तन आयो । पाश्चात्य संस्कारले नेपाली संस्कारमा अधिकार जमायो । आधुनिक र सभ्य देखिने महत्वकांक्षाले स्वतन्त्रताभन्दा माथि स्वच्छन्दताको पराकाष्ठ नजिक पुग्न लागेको महसुस हुन थालेको छ । बेफुर्सद जीवनबाट फुर्सद निकालेर जन्मघरमा भेला हुने र सौभाग्यको प्रतिक सिउँदोमा सिंदुर गलामा पोते, औकात अनुसारका वस्त्राभूषण लगाउने र खानपान गर्ने परिपाटी बदलिएको छ । तीजको महत्वपूर्ण पाटो भनेको दर खाने हो भाद्र शुक्ल द्वितियाको दिन औकातअनुसारका परिकार बनाउने र परिवारमा भेला जम्मा भई खाने गरिन्छ । व्रतालु महिलाले चाहि रातको समयमा पनि पुनः दर खाने गर्छन् । तर आज यो चलनमा बढोत्तरी भएको छ ।
सहरी सभ्यतामा रमेकाहरुले पाटीप्यालेसमा महङ्गो भाडा तिर्ने, एक महिना अगाडिबाट पालैपालो दरको कार्यक्रम आयोजना गर्ने आर्थिक मितव्ययिताको ख्याल नगरी देखासिकीले साम्राज्य जमाएको छ । मादलको घन्काइमाभन्दा गितारको रन्काइमा लालयित हुने र उत्तेजित गानबजानमा रमाउन थालेको पाइन्छ । साडीचोलोलाई असभ्यताको परिचायक मान्ने र भड्किला र छोटा कपडा पहिरिने, महङ्गा गरहना लगाउने आदि कार्यले मौलिक पर्व तीजमा विकृतिले पाइला टेकेको छ । नारी पीडा र गुनासो व्यक्त हुने भाका, लय भएका लोक भावनाको ममता बिर्सिएर आधुनिक हिप पप गीतमा उत्तेजित र भड्किला नृत्यमा रमाउने निजि पहिचान गुमनाम भएको छ । दुध र दुधबाट बनेका परिकारको अलवा विभिन्न पेय पदार्थको सेवन गर्न थालिएको छ ।
मदिराको नशामा लठ्ठ भएर अश्लिल र अपाच्य गीत बनाएर भडकिलो नाचगानले समाजमा विकृतिको खुड्किलो ताकेको देखिन्छ । नारी महिमा र शोभामा यसले धब्बा लगाउन थालेको छ । सामाजिक मूल्यमान्यतालाई कुल्चिएर मनोमानी र निर्लज्ज गरिने कार्यकलापले तीज स्वच्छन्दताको बाटोमा लागेको देखिन्छ । हिजोआज बजारमा आएका तीजे गीतले पनि बजारमा चर्चा कमाएका छन् उत्ताउलोपनले । यस वर्षको तीजमा आएको जुना मगर र रिजन थापामथरको स्वरमा रेकर्ड भएको “दुधको मुन्टो छुदा” बोलको गीत विवादमा परेको छ । नेपाली समाज र संस्कृतिमा आएको स्वच्छन्दता र विकृतिलाई रोक्न यस वर्षबाट राष्ट्रिय लोक दोहोरी प्रतिष्ठानले प्रयास थालेको छ ।
आयतित संस्कारको अन्धानुकरणले विस्तारै मौलिक संस्कारलाई धराशयी बनाउन थालेको छ भने आधुनिक बन्ने लालसाले हामीलाई अधोगतिमा डो¥याएको छ तर त्यसलाई नै हामी सभ्यता र विकास भनेर समाइरहेका छौं । भाषा, संस्कार समाजको सम्पति हो । नजानिंदो किसिमले यी सम्पदा विलय हुदा समेत हामी कुम्भकर्ण निदमा लम्पसार छौं । विकास र सभ्यताका नाममा हाम्रा संस्कृति विकृतिमा स्खलित हुदैछन्, पर्व मनाउन पनि अब औकात देखाउन परेको छ । जुन पर्व दुःख, पीडाको समन गर्न मनाइन्थ्यो आज तिनै पर्व दुःख, पीडा र हिनताबोधको कारक बनेका छन् । एउटै पर्व हुनेखाने र हुँदा खानेका लागि फरक भएको छ ।
नारी अस्मिता र स्वतन्त्रताको परिचायक तीज पनि आज अमिर र फकिरका लागि फरक भएको छ । राजा र रङ्कका लागि भिन्न प्रकारले आउन थालेको छ । अमिरका लागि सुखद र फकिरका लागि दुखद भएको छ । विगतका दिनमा नारी पुरुषको आपसी सद्भाव बोकेर आउने पर्व कलह, मतभेद, कुण्ठा लिएर आउन थालेको छ । पतिको दीर्घायु र प्रगतिको भावनामा रमाउने नारी मनलाई ईष्र्या र तनावले बेरेको छ । को भन्दा को कमको दम्भले परिवारमा खैलाबैला मच्चाएको छ ।
महङ्गो साडी र बहुमूल्य गरगहना जोड्न नसक्ने श्रीमानका श्रीमतिले गर्ने कचकचले परिवार विघटनको अवस्थामा पुगेका छन् भने यिनै देखासकीमा परिवार र छोराछोरीका आकांक्षा पूरा गर्न श्रीमान वा अभिभावकले कालोधन्दा गर्ने वा भ्रष्ट्राचार गर्ने बाटो रोज्न विवश हुनुपर्छ । यसबाट सामाजिक र सांस्कृतिक विकृति मात्र होइन राष्ट्रिय समस्या थपिएको छ । आफ्नो पारिवारिक र आर्थिक हैंसियतमा पर्व मनाउने परम्परा तुहिएर तडकभडक र प्रतिष्पर्धामा बढोत्तरी भएको छ । समयमा होस गर्ननसक्ने हो भने यही पर्व गम्भिर समस्याको जड बन्न सक्छ ।
साथी, सहेली र छरछिमेकीको सिको गरी तीज मनाउने अयातित चलनले समाज र परिवारमा अनियन्त्रित विकृतिको चाङ लागेको छ । सांस्कृतिक रुपमा समाज स्खलित हुदैछ । तीज पर्व नारी पुरुषको सद्भाव बोकेर नआई तनाव बोकेर आउन थालेको कुरा नकार्न मिल्दैन ।
लत्ताकपडा र गरगहनाको महङ्गो माग आउने र सो परिपूर्ति गर्न नसक्दा आत्महत्या र सम्बन्धविच्छेद जस्ता दुःखद घटनामा वृद्धि भई पारिवारिक असन्तुलन बढेको छ । हासो, खुशीभन्दा आसु र रोदनको साम्राज्य छ । अकुत सम्पत्ति आर्जन गरी पारिवारिक सन्तुलन मिलाउन गैरकानुनी सुरुङबाट भ्रष्ट्राचार मौलाएको छ, आपराधिक क्रियाकलाप बढेका छन् ।
जानीनजानी त्यसको पक्षपोषण भइरहेको छ । समयमा यसको निराकरण गर्न नसके संस्कृति विकृतिमा रुपान्रण हुनसक्छ । पर्व पोज र मोजलेभन्दा पनि भावजनात्मक सम्बन्ध र पारिवारिक, सामजिक सद्भाव विकासका लागि मनाउनु पर्छ ।
उत्ताउलो एवम् उच्छृङ्खल व्यवहार गरी समाजको आँखामा बिझाउनमा भन्दा मोलिकताको जगेर्ना गरी लोकप्रियता आर्जनमा ध्यान दिन मनासिव होला । खर्चिलोपनलाई थाति राखेर औकात अनुसारको काम गर्दा पारिवारिक अमनचयन आउन सक्छ । सुखद र सौम्य जीवनको आधार बन्न सक्छ । औकात र हैसियत बिर्सिएर दुःखको स्वागत नगरौं, आफ्नो धरातलमा उभिएर सुखको प्रतिक्षा गरौं । (दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका”८ बुवालुङ खोटाङका वासिन्दा हुन् ।)
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



