कानुन ( कहाँको नुन ?)

–पवन प्रताडित

भदौ २० शुक्रवार, २०७६
शुद्ध पानीलाई एकछिन बिर्सने हो भने
संसारका हरेक चिजको
आ–आफ्नै खालको स्वाद हुन्छ
फरक यति हो–
फरक स्वाद भएको दोस्रो चिज
कुनै एउटा चिजमा मिसाइयो भने
फरक नै स्वाद आउँछ
जस्तो नुनको स्वाद नुनिलो हुन्छ
तर,
त्यही नुनमा चिनी मिसाउने हो भने
त्यसमा नुन र चिनी दुवैको स्वाद आउँछ
अथवा भनौँ
नुनले आफ्नो वास्तविक स्वाद गुमाउँछ
मलाई राम्ररी नै थाहा छ
सोडियम र क्लोरिन मिलेर
सोडियम क्लोराइड अर्थात् नुन बन्छ
यी दुईको सम्मिश्रण बिना
नुनिलो नुनको कल्पना गर्न सकिन्न
हो,
यतिखेर मेरो देशको कानुन ठीक त्यस्तै छ
अर्थात्
नुन भएर पनि नुन जस्तो छैन
टर्रो, तीतो, खल्लो र बेस्वादिलो छ
वास्तविक स्वाद गुमाएको
नुन जस्तै छ
त्यसैले त म निर्माताहरूलाई सोध्दै छु–
मेरो देशको कानुन
के के मिलेर बनेको
कस्तो नुन हो ?
कहाँको नुन हो ?
लेखक : सामुदायिक रेडियो हलेसी एफएम, खोटाङमा आबद्ध छन् ।