दुधकोसी जलविद्युत आयोजनाको सार्वजनिक सुनुवाई
भदौ २१ शनिवार, २०७६
खोटाङ । दुधकोसी जलाशययुक्त जलविद्युत आयोजनाले सार्वजनिक सुनुवाई गरेको छ । दुधकोसी जलाशययुक्त जलविद्युत आयोजनाले शनिवार दिक्तेलको जिल्ला समन्वय समितिको सभा हलमा जिल्लास्तरिय सार्वजनिक सुनुवाई गरेको हो ।
सामाजिक तथा वातावरणीय अध्ययन अन्तरगत जलविद्युत आयोजना लागि तयार पारिएको वातावरणीय प्रभाव मूल्यांकन (इआइए) प्रतिबेदनका बिषयमा आयोजना गरिएको सार्वजनिक सुनुवाई कार्यक्रममा ठूलो क्षमताको आयोजना भएपनि दुधकोसीबाट विस्थापित हुने घरधुरी संख्या तुलनात्मक रुपमा कम रहेको जानकारी दिइएको छ ।
६ सय ३५ मेगावाट क्षमताको दुधकोसी जलाशययुक्त जलविद्युत आयोजनाबाट एक हजार एक सय ५० घर परिवार प्रभावित हुने देखिएको छ । खोटाङको रावाबेँसी गाउँपालिका–३ लामीडाँडा र ओखलढुंगाको चिसंखुगढी गाउँपालिका–६ भदौरेको सिमानामा पर्ने जलविद्युत आयोजनाबाट १६२ घर पूर्ण र ९८८ घर आंशिक प्रभावित हुने देखिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।
हाल दुधकोसी जलाशययुक्त जलविद्युत आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन अध्ययन भइरहेको अवस्थामा प्राधिकरणले वातावरण संरक्षण ऐन २०५३ तथा वातावरण संरक्षण नियमावली २०५४ अनुसार आयोजना कार्यान्वयन हुने स्थान तथा जिल्लामा सार्वजनिक सुनुवाई गरेर वातावरणीय प्रभाव मूल्यांकन अध्ययन प्रतिबेदनका विषयमा आवश्यक राय–सुझाव संकलन गरेको हो ।
आयोजनाको डिपिआरकै काम पूरा गर्नेक्रममा निर्माणस्थलमा प्रभावित क्षेत्रका स्थानीयबाट राय–सुझाव लिइएको दुधकोसी जलाशययुक्त जलविद्युत आयोजनाका आयोजना प्रमुख बशन्तध्वज श्रेष्ठले बताए । शुक्रबार रावाबेँसी गाउँपालिका–३ लामीडाँडाको रभँुवामा र बिहिबार हलेसी तुवाचुङ नगरपालिका–८ धितुङमा सार्वजनिक सुनुवाई गरेको थियो । आउँदो सोमबार ओखलढुंगाको चिसंखुगढी गाउँपालिका–१ कुइभीरमा सार्वजनिक सुनुवाई राखिएको जनाइएको छ ।
१९.८ वर्ग किलोमिटर क्षेत्रमा फैलिने आयोजनाको जलाशयले खोटाङको रावाबेँसी गाउँपालिकाका ६ वडा, हलेसी तुवाचुङ नगरपालिकाका ५ वडा, ऐसेलुखर्क गाउँपालिकाका ३ वडा, ओखलढुंगा चिसंखुगढी गाउँपालिकाका ५ वडा, सोलुखुम्बुको दुधकौशिका गाउँपालिकाका २ र नेचासल्यान गाउँपालिकाको १ वडामा प्रभाव पर्ने देखिएको छ ।
आयोजनाका लागि ड्याम बनाउदा दुधकोसीमा १७ किलोमिटर, रावा खोलामा ८ किलोमिटर र ठोट्ने खोलामा ५.५ किलोमिटर जलाशय सिर्जना हुने आयोजनाले जनाएको छ । दिक्तेलमा भएको कार्यक्रममा खोटाङका प्रतिनिधिसभा सदस्य बिशाल भट्टराईले आयोजनाको कामलाई सफल र पूर्ण बनाउनका लागि सहयोग गर्न स्थानीयलाई आग्रह गरे ।
‘आयोजनालाई सहयोग गर्नुपर्छ, सफल बनाउनु पर्छ । सघाउँनु पर्छ । पहिलो शर्त यही हो,’ भट्टराईले भने, ‘त्यसपछि प्रभावका विषयमा कुरा गरौंला, अधिकारका कुरा गरौंला । भए÷नभएको माग राखेर आयोजनालाई अशर पुग्ने गतिविधि कसैले नगरौं ।’
मुख्य विद्युत गृहबाट ६ सय र ड्याम टो विद्युत गृहबाट ३५ मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्यकासाथ काम भइरहेको दुधकोसी जलाशययुक्त जलविद्युत आयोजनाको डिपिआरको काम अन्तिम चरणमा पुगेको छ ।
३० महिनामा पूरा गर्ने गरी इटाली र जापानको संयूक्त इएलसि इलेक्ट्रो कन्सल्ट एसपिए इन एसोसिएसन विथ न्यूजेक नामक कम्पनीले २०७३ साल जेठ १७ गतेदेखि डिपिआर अन्तरगत आयोजनाको विस्तृत इन्जिनियरिङ डिजाईन, सामाजिक तथा वातावरणीय र सम्भाव्यता अध्ययनको काम थालेको हो ।
लामीडाँडाको रँभुवाबजारमा २०० मिटर अग्लो बाँध हालेर बनाइने जलाशयबाट १३.३० किलोमिटर हेडरेस सुरुङमार्फत धितुङमा पानी खसाएर विद्युत उत्पादन गर्ने लक्ष्यका साथ आयोजनाको काम अघि बढाइएको हो । आयोजनाको डिपिआरको काम आगामी मंसिरसम्ममा पूरा हुने विद्युत प्राधिकरणले जनाएको छ ।
सन् २०१४ मा जाइकाले पहिचान गरेका नेपालका १० उत्कृष्ट जलाशययुक्त जलविद्युत आयोजनामध्ये पहिलो प्राथमिकतामा राखिएको दुधकोसीको वार्षिक ३ हजार ४४३ गिगावाट घण्टा उर्जा क्षमता रहेको छ ।
भ्याटसहित करिब दुई खर्ब २० अर्वको लागतमा सम्पन्न हुने अनुमान गरिएको आयोजनाको सुरुङ खन्न टनेल बोरिङ मेसिन (टिबिएम) प्रविधि प्रयोग गरिने बताइएको छ ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



